नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व महासचिव ईश्वर पोखरेलले पार्टीभित्र नेतृत्व हस्तान्तरण, उमेरहद र कार्यकालको सीमाबारे चर्चा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उनकै राजनीतिक दस्तावेज स्मरण गराएका छन्। पोखरेलले अध्यक्ष ओलीले स्वयं लेखेको पुस्तक तथा राजनीतिक दस्तावेजमा नै यी विषयहरू स्पष्ट रूपमा उल्लेख रहेको भन्दै त्यसलाई पुनः अध्ययन गर्न आग्रह गरेका हुन्।
पोखरेलका अनुसार अध्यक्ष ओलीले ‘जनताको बहुदलीय जनवाद र पार्टी जीवनको लोकतान्त्रीकरण विषयमा एउटा महत्वपूर्ण किताब लेखेका छन्। उक्त पुस्तकमा पार्टी नेतृत्वमा उमेरको सीमा किन आवश्यक छ भन्ने प्रश्नको जवाफ दिइएको छ भने एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नहुने विषय पनि प्रस्टसँग उल्लेख गरिएको छ।
“उहाँले आफैं जबज र पार्टी जीवनको लोकतान्त्रीकरण भनेर किताब लेख्नु भएको छ। त्यसमा किन उमेरहद आवश्यक छ किन दुई कार्यकाल मात्र हुनुपर्छ भन्ने विषय मात्रै होइन, त्यसका पछाडि रहेका भूराजनीतिक सन्दर्भ, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय परिवेशसँग जोडिएका गहिरा विश्लेषणहरू पनि समेटिएका छन् ” पोखरेलले भने।
उनले पार्टीका सबै कमरेडहरूलाई उक्त दस्तावेज एक पटक गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गर्दै भने “आज हामीले बहस गरिरहेका धेरै विषयहरूको उत्तर त्यही किताबभित्र भेटिन्छ। त्यसैले सबै कमरेडहरूले कम्तीमा एक पटक पढ्नैपर्छ भन्ने मेरो आग्रह छ।
पोखरेलको यो अभिव्यक्ति पार्टीभित्र नेतृत्वको उत्तराधिकार, उमेरहद र कार्यकाल सीमाबारे चलिरहेको बहसको सन्दर्भमा आएको हो। पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तन र पार्टीको आन्तरिक लोकतन्त्रलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा फरक–फरक मतहरू सार्वजनिक रूपमा व्यक्त हुँदै आएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *