उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई इमानदारीपूर्वक बोध गर्दै सबै मिलेर देश विकासमा लाग्न आह्वान गर्नुभएको छ । उहाँले समृद्ध नेपालका लागि नवीन सोच, योजना, दृढ अठोट र चरित्रवान् नेतृत्व आवश्यक रहेको बताउनुभयो । यो कुरा उहाँले काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा व्यक्त गर्नुभएको हो ।
उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले प्रशासनिक खर्च घटाएर पुँजीगत खर्च बढाएको र नागरिकबाट उठेको राजस्व नागरिककै हितमा प्रयोग भइरहेको बताउनुभयो । उहाँका अनुसार सडक सुधार, बत्ती जडान, सम्पदा संरक्षण, स्वास्थ्य सेवा विस्तार, सार्वजनिक जग्गा फिर्ता, इ–शासन र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ ।
प्रमुख शाहले आगामी दिनमा सहकार्य र दीर्घकालीन योजनामार्फत काठमाडौँवासीलाई सहरप्रति गर्व हुने वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
