त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोह आगामी पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा भव्य रूपमा आयोजना गर्ने भएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस समारोहमा विभिन्न संकाय तथा तह उत्तीर्ण गरेका १६ हजार ३ सय ३८ जना विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार दीक्षान्त समारोहमा सहभागी हुनका लागि आवेदन दिएका र तोकिएको शुल्क बुझाएका विद्यार्थीलाई मात्र सहभागिता गराइनेछ। दीक्षान्त समारोहका क्रममा स्नातक, स्नातकोत्तर उत्तीर्ण विद्यार्थीलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरिनेछ।
विश्वविद्यालयले समारोहलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयको शैक्षिक उपलब्धि र विद्यार्थीको मेहनतलाई सम्मान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।